पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान सुरु, पहिलो उडानमा ११३ यात्रु पोखरा आइपुगे
पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसँग दैनिक नियमित व्यावसायिक उडान सुरु भएको छ। फ्लाई दुबईको पहिलो नियमित विमान बुधबार साँझ दुबईबाट ११३ यात्रु लिएर पोखरा अवतरण गरेको हो।
१६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान साँझ करिब ६:१८ बजे पोखरा आइपुगेको थियो। विमानलाई पानीको फोहरासहित स्वागत गरिएको थियो। सोही विमान १५३ यात्रु लिएर साँझ ७:१५ बजे दुबई फर्किने तालिका रहेको विमानस्थलले जनाएको छ।
अब फ्लाई दुबईले पोखरा–दुबई रुटमा दैनिक उडान गर्नेछ। दुबई अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट केन्द्र भएकाले पोखराबाट युरोप, अमेरिका, अस्ट्रेलियालगायत विभिन्न गन्तव्यमा जाने यात्रुलाई कनेक्टिङ उडान लिन सहज हुने अपेक्षा गरिएको छ।
सन् २०२३ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि विभिन्न अन्तर्राष्ट्रिय तथा चार्टर उडान भए पनि नियमित सेवाले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको दैनिक सेवाले पोखराको पर्यटन, वैदेशिक यात्रा र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
