पाल्पामा पहिरोले दुई घर बगायो, महिला बेपत्ता 

Content:

पाल्पा — लगातारको वर्षापछि पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा गएको पहिरोले दुई घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। घटनामा स्थानीय ५९ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएकी छन्।

शुक्रबार दिउँसो घरमाथिको मोटरबाटोबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा केसुराम सारु मगर र रामबहादुर उचईका घरमा क्षति पुगेको हो। दुवै परिवारका अन्य सदस्य भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

निरन्तर वर्षा र लेदो बगिरहेकाले बेपत्ता महिलाको खोजीमा कठिनाइ भइरहेको छ। वर्षाका कारण सिद्धार्थ राजमार्गसहित पाल्पाका विभिन्न सडकमा समेत पहिरो खस्दा यातायात प्रभावित भएको छ।