नेपालका ट्रेल रनरले भियतनाममा इतिहास रचे 

काठमाडौं : भियतनाममा सम्पन्न Asia Trail Master Championship Final मा नेपाली धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै महिला र पुरुष दुवैतर्फ पहिलो र दोस्रो स्थान कब्जा गरेका छन्। ७५ किलोमिटरको चुनौतीपूर्ण ट्रेल दौडमा नेपालका चार खेलाडी शीर्ष दुई स्थानमा पुगेका हुन्।

महिलातर्फ डोल्पाकी २४ वर्षीया सुनसरी रोकायाले ९ घण्टा ३२ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। जुम्लाकी १९ वर्षीया कल्पना बुढा मात्र करिब आठ सेकेन्डपछि ९ घण्टा ३२ मिनेट ३३.१ सेकेन्डमा फिनिस गर्दै दोस्रो भइन्।

कल्पनाले १९ वर्षकै उमेरमा पोडियम स्थान हासिल गर्दै Asia Trail Master इतिहासमा पोडियम पुग्ने सबैभन्दा कम उमेरकी धावकको कीर्तिमानसमेत बनाएकी छन्।

पुरुषतर्फ ४२ वर्षीय होमलाल श्रेष्ठले ७ घण्टा १४ मिनेट १७.९ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते। उनी ATM Championship जित्ने पहिलो नेपाली पुरुष धावक बने। नेपालकै गोपाल तामाङ करिब १५ मिनेटपछि दोस्रो स्थानमा रहे।

भियतनामको Mù Cang Chải मा आयोजित प्रतियोगिताको ७५ किलोमिटर मार्गमा करिब ३,७०० मिटर elevation gain रहेको थियो। पहाडी भूगोल र कठिन ट्रेल पार गर्दै नेपाली खेलाडीहरूले हासिल गरेको नतिजाले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा नेपालको बलियो उपस्थिति देखाएको छ।