देशभर 4G विस्तार गर्दै नेपाल टेलिकम, २०० नयाँ टावर निर्माणको तयारी
काठमाडौं : नेपाल टेलिकमले मोबाइल नेटवर्कको पहुँच र गुणस्तर सुधार गर्न देशभरका थप १ हजार ५९७ स्थानमा 4G सेवा विस्तार गर्ने तयारी गरेको छ। आवश्यक उपकरण खरिदका लागि यसै साता बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै मोबाइल सेवा विस्तार र गुणस्तर सुधारका लागि टेलिकमले काम अगाडि बढाएको जानकारी दिएका हुन्। सरकारले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार र सुधारको ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउने जनाएको छ।
मोबाइल नेटवर्कको पहुँच थप विस्तार गर्न २०० वटा नयाँ टावर निर्माण गर्ने प्रक्रिया पनि अघि बढेको छ। ती टावर निर्माणसम्बन्धी बोलपत्र अहिले मूल्याङ्कनको चरणमा रहेको मन्त्री तिमिल्सिनाले बताएका छन्।
विद्युत् अवरुद्ध हुँदा मोबाइल नेटवर्क बन्द हुने समस्या कम गर्न टावरहरूको पावर ब्याकअप क्षमता पनि बढाइँदैछ। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६०० भन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ। यसबाट विद्युत् आपूर्ति बन्द हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने सरकारको भनाइ छ।
टेलिकमसँग हाल करिब ५०० वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गर्ने लक्ष्य राखिएको छ। थप २०० ब्याट्री खरिदको प्रक्रिया पनि अघि बढाइएको छ।
यसैबीच हालैको भोटेकोशी बाढीले नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा मुख्य प्रसारण प्रणालीमा रु. ८ करोड ८५ लाखभन्दा बढीको क्षति पुर्याएको सरकारले जनाएको छ। रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा प्रभावित भएकोमा पूर्ण रूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य सेवा पुनः सञ्चालनमा ल्याइएको छ।
नेपाल टेलिकमको आधिकारिक विवरणअनुसार कम्पनीको 4G/LTE सेवा अहिले देशका सबै ७७ जिल्लामा पुगेको छ। टेलिकमले बाँकी क्षेत्रसमेत समेट्दै नेटवर्कको पहुँच र गुणस्तर विस्तार गर्ने काम जारी राखेको जनाएको छ।
Photo: Saddam Hussain Ansari / Wikimedia Commons (CC BY 4.0)
नेपाल टेलिकमको केन्द्रीय कार्यालय — फाइल तस्बिर
