दुई दिनमै सुन तोलामा ८ हजार ८ सय रुपैयाँ सस्तियो, चाँदी पनि घट्यो
काठमाडौं — नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ। दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्य विवरणले देखाएको छ।
आइतबार प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ रहेको सुन सोमबार ५ हजार रुपैयाँ घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा झरेको थियो। मंगलबार थप ३ हजार ८ सय रुपैयाँ घटेपछि प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला ११५ रुपैयाँ घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ। पछिल्ला दुई दिनमा चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस करिब ४ हजार १२९ अमेरिकी डलर आसपास कारोबार भएको थियो।
