दुई दशक लामो अध्याय अन्त्यतर्फ, इराकबाट अमेरिकी नेतृत्वको गठबन्धन बाहिरिँदै 

बग्दाद — इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनको मिसन अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अमेरिका र इराकबीच भएको सहमतिअनुसार सेप्टेम्बर ३० सम्म बाँकी गठबन्धन सैनिकको प्रस्थान पूरा गर्ने समयसीमा तय गरिएको छ। 

अमेरिकी सैनिक यसअघि नै इराकका अधिकांश सैन्य आधारबाट हटिसकेका छन्। पछिल्लो समय बाँकी केही सय अमेरिकी सैनिक मुख्यतः उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेको र उनीहरूको प्रस्थान पनि यही समयसीमाभित्र पूरा गर्ने तयारी रहेको छ। 

सन् २०२४ मा वासिङ्टन र बग्दादले ISIS विरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन मिसन चरणबद्ध रूपमा अन्त्य गर्ने सहमति गरेका थिए। अमेरिकी सेना सन् २००३ मा इराक प्रवेश गरेको थियो। सन् २०११ मा फिर्ता भएपछि ISIS को उदयसँगै इराकी सरकारको आग्रहमा अमेरिकी सैनिक पुनः फर्किएका थिए। 

सैन्य गठबन्धनको मिसन अन्त्य भए पनि अमेरिका र इराकबीचको सम्बन्ध समाप्त हुने छैन। दुवै पक्षले आगामी सम्बन्धलाई द्विपक्षीय सुरक्षा, आर्थिक तथा अन्य सहकार्यतर्फ लैजाने बताएका छन्। इराकी सरकारले देशको सुरक्षा जिम्मेवारी आफ्नै सुरक्षा निकायले सम्हाल्ने जनाएको छ।

📷 फाइल तस्बिर: U.S. Central Command / U.S. military