जापानी इन्सेफलाइटिसका १३१ संक्रमित, करिब ८७ प्रतिशतले खोप नलगाएको तथ्य
काठमाडौं : नेपालमा सन् २०२६ मा हालसम्म जापानी इन्सेफलाइटिस (जेई) संक्रमण १३१ जनामा पुष्टि भएको छ। संक्रमणका कारण २८ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।
यस वर्ष देशभर एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएकोमा परीक्षणबाट १३१ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको हो। संक्रमितमध्ये करिब ८७ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ।
हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा संक्रमण पुष्टि भएको छ। अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने तथा कृषि पेसामा संलग्न व्यक्ति रहेको सरकारी प्रतिवेदनमा उल्लेख छ।
संक्रमण देखिएका क्षेत्रमा सरकारले खोप अभियानलाई निरन्तरता दिएको छ। झापाका सबै स्थानीय तह तथा कैलालीको घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी खोप अभियान सञ्चालन भइरहेको छ।
हालसम्म कैलालीमा एक लाख ११ हजार ७९० र झापामा तीन लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन्। नियमित खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई १२ महिनाको उमेरमा जेई खोपको एक मात्रा दिइन्छ भने छुटेको अवस्थामा पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ।
स्वास्थ्यकर्मीहरूले जापानी इन्सेफलाइटिसबाट बच्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन आग्रह गरेका छन्।
सांकेतिक तस्बिर: James Gathany / CDC / Wikimedia Commons — Public Domain
