चीनबाट आउने सामान रोकिँदा दशैं बजार प्रभावित, व्यापारी चिन्तित 

काठमाडौं : दशैं नजिकिँदै गर्दा चीनसँग जोडिएका नेपालका तीन प्रमुख व्यापारिक नाका अवरुद्ध हुँदा चीनबाट स्थलमार्ग हुँदै हुने आयात प्रभावित भएको छ। तातोपानी–खासा, रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाकाबाट हुने व्यापार एकैपटक प्रभावित भएपछि दशैं लक्षित सामानको आपूर्तिमा दबाब परेको छ।

रसुवागढी नाका अगस्ट २६ को बाढीले सडक तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि बन्द छ भने तातोपानी नाकाबाट पनि करिब एक महिनादेखि व्यापारिक कारोबार रोकिएको छ। यी दुई नाकाको विकल्पका रूपमा प्रयोग भइरहेको कोरला नाका पुग्ने बेनी–जोमसोम सडक बाढी, पहिरो र कटानका कारण अवरुद्ध भएपछि मालवाहक सवारीको आवागमन रोकिएको हो। कोरला नाका र भन्सार कार्यालय भने सञ्चालनमै रहेको अधिकारीहरूले बताएका छन्।

नाका अवरुद्ध हुँदा दशैंका लागि आयात गरिएका कपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, विद्युतीय सवारी तथा अन्य व्यापारिक सामान बोकेका सयौं कन्टेनर रोकिएका छन्। कोरला भन्सार क्षेत्रमा मात्रै २०० भन्दा बढी कन्टेनर रोकिएको विवरण सार्वजनिक भएको छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले चीनबाट रु. ७६ अर्ब ४० करोडभन्दा बढीको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ। व्यवसायीका अनुसार दशैं लक्षित सामानमध्ये हालसम्म करिब २० देखि ३० प्रतिशत मात्रै काठमाडौं आइपुगेको छ। ढुवानी खर्च र डलरको मूल्य बढेकाले केही आयातित सामान महँगिन सक्ने उनीहरूको भनाइ छ।

यद्यपि बजारमा पुरानो मौज्दात रहेको र मागसमेत कमजोर भएकाले सबै वस्तुको मूल्य तत्काल व्यापक रूपमा बढ्ने निश्चित नभएको व्यवसायीहरूले बताएका छन्। सरकारले अवरुद्ध सडक खुलाउन काम भइरहेको र तातोपानी नाका पुनः सञ्चालनका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ।

Photo: Hiroki Ogawa / Wikimedia Commons (CC BY 3.0)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ