चार दिनको वर्षाले देशभर विपद् : २७ जनाको मृत्यु, ४ बेपत्ता 

काठमाडौं — चार दिनसम्म परेको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा अन्य वर्षाजन्य विपद्मा २७ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ९ देखि १२ गतेसम्म देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन्।

सबैभन्दा ठूलो मानवीय क्षति पहिरोबाट भएको छ। देशभर भएका ३०४ पहिरोका घटनामा २० जनाको मृत्यु, चार जना बेपत्ता र सात जना घाइते भएका छन्। त्यस्तै ८७ वटा बाढीका घटनामा चार जनाको मृत्यु भएको छ भने भारी वर्षासँग सम्बन्धित अन्य घटनामा तीन जनाले ज्यान गुमाएका छन्।

विपद्बाट एक हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार २२७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ। सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारमा समेत वर्षाले क्षति पुर्‍याएको छ।

जोखिममा परेका विभिन्न क्षेत्रबाट करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन्।

चार दिनको अवधिमा देशका धेरै वर्षा मापन केन्द्रमा अत्यधिक वर्षा रेकर्ड भएको थियो। वर्षा कम भएसँगै केही क्षेत्रमा जनजीवन सामान्यतर्फ फर्किन थाले पनि बाढीपहिरो प्रभावित स्थानमा क्षतिको विवरण संकलन तथा राहतको काम जारी छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ