गण्डकीमा प्राकृतिक विपद्को प्रहार : २१ जनाको मृत्यु, यातायात प्रभावित
पोखरा — लगातारको वर्षापछि आएको बाढी र पहिरोले गण्डकी प्रदेशमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। असोज ९ देखि ११ गतेसम्मको विपद्मा प्रदेशका विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएको छ भने केही व्यक्ति अझै बेपत्ता छन्।
बागलुङ, म्याग्दी र मनाङ बढी प्रभावित भएका छन्। बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित नागरिकको उद्धार तथा राहतलाई तीव्र बनाउन प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
उद्धारका लागि नेपाली सेनाको समन्वयमा तीनवटा हेलिकप्टर परिचालन गरिएको छ। आइतबार र सोमबार गरी जोखिममा रहेका १४३ जनालाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारिएको प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ।
मनाङमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन औषधिसहित दुई चिकित्सक र एक नर्सलाई हेलिकप्टरमार्फत पठाइएको छ। प्रदेश मातहतका अस्पताललाई आकस्मिक सेवा निरन्तर सञ्चालन गर्दै उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।
तीन दिनको वर्षाले प्रदेशभर ११ वटा झोलुङ्गे पुल, ६ वटा पक्की पुल तथा ४३ वटा सडकका विभिन्न खण्डमा क्षति वा अवरोध पुर्याएको छ। चाडपर्व नजिकिँदै गर्दा अवरुद्ध सडक तत्काल खुलाउन र आवश्यक स्थानमा वैकल्पिक मार्ग सञ्चालन गर्न पूर्वाधार विकास कार्यालयहरूलाई परिचालन गरिएको छ।
मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला तथा बेंसीसहर–मनाङ सडक सञ्चालनमा ल्याउन संघीय सरकारसँग समेत समन्वय भइरहेको जनाइएको छ।
प्रदेश सरकारले विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ विनियोजन गरेको छ। साथै ११ वटै जिल्लाका विपद् व्यवस्थापन समितिको कोषमा कम्तीमा १० लाख रुपैयाँ रहने गरी बजेट व्यवस्था गरिएको छ।
मौसम पुनः प्रतिकूल बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रदेश सरकारले जोखिमयुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
