केरलामा बाढी र पहिरोको कहर, कम्तीमा १० जनाको मृत्यु
तिरुवनन्तपुरम — भारतको केरलामा भारी वर्षापछि आएको आकस्मिक बाढी र विभिन्न स्थानमा गएको पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ। मालप्पुरम, कोट्टायम र इडुक्की जिल्ला वर्षाजन्य विपद्बाट बढी प्रभावित भएका छन्।
मालप्पुरम जिल्लाको निलम्बुरस्थित टीके कोलोनी क्षेत्रमा कोट्टापुझा नदीमा अचानक पानीको बहाव बढ्दा बगाएका ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। सुरुमा बेपत्ता भएकी २६ वर्षीया महिलाको शव मंगलबार नदीबाट फेला परेपछि उक्त घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो।
स्थानीय क्षेत्रमा वर्षा नभए पनि नदीको माथिल्लो वन क्षेत्रमा परेको भारी वर्षाका कारण पानीको सतह अचानक बढेको अधिकारीहरूको प्रारम्भिक भनाइ छ। घटनापछि राष्ट्रिय विपद् प्रतिकार्य बल (NDRF), अग्नि तथा उद्धार सेवा, प्रहरी र स्थानीय स्वयंसेवक खोज तथा उद्धारमा परिचालन भएका थिए।
यसैबीच कोट्टायम र इडुक्की जिल्लाका पहाडी क्षेत्रमा पहिरो र लेदो बग्ने घटनामा थप चार जनाको मृत्यु भएको छ। कोट्टायममा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको थियो भने अर्को घटनामा तमिलनाडुकी एक महिलाको ज्यान गएको थियो। इडुक्कीको कोट्टाकम्बुर क्षेत्रमा लेदोसहितको पहिरोले अस्थायी संरचना पुरिँदा दुई जनाको मृत्यु भएको रिपोर्ट छ।
भारी वर्षाले विभिन्न सडकमा पहिरो खस्दा यातायातसमेत प्रभावित भएको छ। केही घरमा क्षति पुगेको छ भने सवारीसाधनसमेत लेदोमा पुरिएका छन्। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको र राहत शिविर सञ्चालन गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतको मौसम विभागले यसअघि पथनमथिट्टा, अलाप्पुझा, कोट्टायम, इडुक्की, एर्नाकुलम र त्रिशूरलगायत जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना जनाउँदै सतर्कता जारी गरेको थियो। अधिकारीहरूले पहाडी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।
केरलाका मुख्यमन्त्री वी डी सतीशनले प्रभावित क्षेत्रको अवस्था नियमित रूपमा मूल्यांकन गर्न र आवश्यक परे जोखिममा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
