काठमाडौंमा प्रहरीको विशेष अभियान, २५० जना पक्राउ
काठमाडौं : अपराध नियन्त्रण र सार्वजनिक शान्ति कायम गर्ने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’का क्रममा २४ घण्टामा २५० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २२७ पुरुष र २३ महिला रहेको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार ‘सुरक्षित काठमाडौं अभियान’ अन्तर्गत राजधानीका विभिन्न स्थानमा एकसाथ निगरानी र कारबाही गरिएको हो। आपराधिक पृष्ठभूमि भएका, पटक–पटक कसुरमा संलग्न भएका, होहल्ला गर्ने तथा सार्वजनिक शान्ति खलल पार्ने गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान नगरी फरार रहेका १३ जना र चालु मुद्दाका तीन फरार प्रतिवादीसमेत रहेको विवरण सार्वजनिक भएको छ।
यसैबीच दशैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले छुट्टै विशेष सुरक्षा योजना पनि लागू गरेको छ। योजनाअन्तर्गत ३ हजार ५०६ प्रहरी परिचालन गर्नुका साथै संवेदनशील क्षेत्रमा सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरमार्फत समेत निगरानी गरिने प्रहरीले जनाएको छ।
फाइल तस्बिर: Ashishlohorung / Wikimedia Commons / CC BY-SA 3.0
