AIIB बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता, नेपाल पहिलोपटक उपसभापतिमा निर्वाचित 

काठमाडौं : एसियाली पूर्वाधार लगानी बैंक (AIIB) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन्। कतारको दोहामा आयोजित बैठकमा सहभागी भएर उनी कतार एयरवेजमार्फत बिहान ८:४५ बजे काठमाडौं आइपुगेका हुन्।

अर्थमन्त्री वाग्ले सेप्टेम्बर २६ मा AIIB को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा प्रस्थान गरेका थिए। सेप्टेम्बर २८ र २९ मा भएको बैठकको मुख्य विषय ‘Tomorrow’s Infrastructure: Impact and Innovation’ रहेको थियो।

बैठकका क्रममा नेपाल पहिलोपटक AIIB को उपसभापतिमा निर्वाचित भएको छ। अर्थमन्त्री तथा AIIB को गभर्नर परिषद्मा नेपालका गभर्नर वाग्लेले सन् २०२६–२७ का लागि उपसभापतिको जिम्मेवारी सम्हालेका छन्।

‘Governors’ Business Roundtable’ मा सम्बोधन गर्दै वाग्लेले कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि पूर्वाधारमार्फत पुँजी निर्माण महत्वपूर्ण हुने बताए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। नेपालजस्ता मुलुकको आवश्यकता अनुरूप AIIB को वित्तीय सहायता थप सहुलियतपूर्ण बनाउनुपर्ने र स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित हुने वातावरण निर्माण गर्नुपर्ने धारणा पनि उनले राखे।

भ्रमणका क्रममा वाग्लेले AIIB अध्यक्ष झोउ जियायीसँग भेट गरी नेपालको पूर्वाधार विकास तथा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा बैंकको लगानी र सहयोग बढाउन आग्रह गरेका थिए। छलफलमा हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारमा दीर्घकालीन लगानी विस्तारका विषयसमेत उठाइएको थियो।

त्यस्तै, उनले कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीहरूसँग आर्थिक सहकार्य, लगानी विस्तार, द्विपक्षीय हित तथा नेपालमा विपद्पछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल गरेका थिए।

अर्थमन्त्रीको सचिवालयका अनुसार दोहा भ्रमणले नेपालको महत्वपूर्ण पूर्वाधार क्षेत्रमा AIIB को लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रहरूसँगको आर्थिक सहकार्यलाई थप अघि बढाउने अवसर सिर्जना गरेको छ।

तस्बिर: San228 / Wikimedia Commons (CC BY-SA 4.0)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ