प्रधानमन्त्री शाह–अस्ट्रेलियाली राजदूत भेटवार्ता, विपद् र जलवायु सहकार्यमा जोड 

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री शाहले हालैको बाढीपहिरोपछि नेपाललाई अस्ट्रेलियाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। अस्ट्रेलियाले विशेषज्ञ जनशक्ति, राहत सामग्री तथा उपकरणसहित १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएको जनाइएको छ।

प्रधानमन्त्री शाहले अस्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अस्ट्रेलियन डलर बराबरको मानवीय सहायतालाई दुई देशबीचको मित्रता र ऐक्यबद्धताको अभिव्यक्तिका रूपमा उल्लेख गरे। भेटमा प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणसँगै भविष्यमा विपद् जोखिम न्यूनीकरणमा सहकार्य जारी राख्ने विषयमा पनि कुराकानी भएको थियो।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले सामना गरिरहेका जोखिमबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले ‘क्षति र नोक्सानी’सम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा सहज र पर्याप्त पहुँच आवश्यक रहेको बताए।

राजदूत अर्न्स्टले प्राकृतिक विपद्बाट नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। भेटमा शिक्षा, विकास सहयोग तथा नेपाल–अस्ट्रेलियाबीचको दीर्घकालीन सम्बन्धका विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।