असन्तुष्ट नेताप्रति कांग्रेसको सन्देश : ‘फर्किन चाहनेका लागि ढोका खुलै छ’ 

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूलाई १५औँ महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै उनीहरूका लागि बाटो खुला रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा राणाले असन्तुष्ट पक्षका माग सम्बोधन गरिएको दाबी गर्दै पार्टीको वैधानिक प्रक्रियाअनुसार महाधिवेशन अघि बढ्ने बताए। कांग्रेसले यसअघि पनि विशेष महाधिवेशनअघिको केन्द्रीय कार्यसमितिका सदस्यलाई १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउने व्यवस्था गर्ने निर्णय गरेको थियो।

राणाले पार्टीभित्र समानान्तर गतिविधि देखिए पनि त्यसलाई औपचारिक विभाजनका रूपमा बुझ्न नहुने धारणा राखे। उनका अनुसार असन्तुष्ट नेताहरूलाई समेत समेटेर महाधिवेशनलाई व्यापक सहभागितासहित सम्पन्न गर्ने प्रयास भइरहेको छ।

पार्टीभित्र महाधिवेशनको वैधानिकता र कार्यतालिकालाई लिएर फरक धारणा कायमै छन्। असन्तुष्ट पक्षले मंसिर २१ देखि २३ सम्म छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ।