भारतदेखि अमेरिकासम्म १३ देशका प्रस्तावित राजदूत, उजुरीका लागि १० दिनको समय 

काठमाडौं — भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि सरकारले सिफारिस गरेका राजदूतहरूको नियुक्ति प्रक्रिया संसदीय सुनुवाइ चरणमा प्रवेश गरेको छ। संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिहरूबारे कुनै सूचना वा उजुरी भए प्रमाणसहित उपलब्ध गराउन सर्वसाधारणलाई आह्वान गरेको छ। 

समितिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिन सकिने जनाएको छ। प्रस्तावित व्यक्ति राजदूत बन्न उपयुक्त नभएको भन्ने उजुरी भए त्यसको स्पष्ट आधार र प्रमाणसमेत पेस गर्नुपर्नेछ। उजुरी संघीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत बुझाउन सकिने व्यवस्था छ। 

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा तथा बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणासहित १३ जनाको नाम सिफारिस गरेको छ। 

अब उजुरी संकलनपछि समितिले प्रस्तावित व्यक्तिहरूसँग सुनुवाइ गर्नेछ। संसदीय प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट ‘एग्रिमो’ प्राप्त गर्ने र त्यसपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रक्रिया अघि बढ्नेछ