मिसाइल र ड्रोनले फेरि तात्यो रुस–युक्रेन युद्ध, युक्रेनमा आठ जनाको मृत्यु
किभ — रुस–युक्रेन युद्धमा मिसाइल र ड्रोन आक्रमण फेरि तीव्र बनेको छ। सेप्टेम्बर २४ मा रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
युक्रेनी वायुसेनाका अनुसार पछिल्लो रुसी आक्रमणमा २८२ ड्रोनसहित हाइपरसोनिक तथा ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरिएको थियो। किभमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको र प्रसूति अस्पतालनजिकको क्षेत्रसमेत क्षतिग्रस्त भएको बताइएको छ। खार्किभ क्षेत्रमा कृषि केन्द्रमा भएको अर्को आक्रमणमा पनि ठूलो मानवीय क्षति भएको छ।
युक्रेनले पनि रुसी भूभागभित्र ड्रोनमार्फत तेल प्रशोधन केन्द्र तथा अन्य औद्योगिक पूर्वाधारलाई निशाना बनाउँदै आएको छ। रुसको रक्षा मन्त्रालयले यसै साताको एउटा रातमा विभिन्न रुसी क्षेत्रमाथि आएका २९७ युक्रेनी ड्रोन खसालेको दाबी गरेको थियो। उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
संयुक्त राष्ट्रसंघको मानवअधिकार अनुगमन मिसनले सेप्टेम्बर १ देखि २४ सम्म युक्रेनमा कम्तीमा २०० सर्वसाधारणको मृत्यु र १,२३४ जना घाइते भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ। मिसनका अनुसार पछिल्ला आक्रमणमा घर, अस्पताल, पसल र कार्यस्थलसमेत क्षतिग्रस्त भएका छन्।
