विद्युत् महसुलमा लगाइएको VAT हटाउने तयारी, मन्त्रिपरिषद्को निर्णय पर्खाइमा
काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत् महसुलमा लगाएको मूल्य अभिवृद्धि कर (VAT) हटाउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आइतबार भएको छलफलमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ।
हालको व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकलाई १३ प्रतिशत VAT लाग्ने व्यवस्था छ। ५० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई भने VAT छुट छ।
विद्युत्मा VAT लगाउँदा घरायसी उपभोक्तामाथि अतिरिक्त भार पर्ने तथा उद्योग–व्यवसायको उत्पादन लागत बढ्ने भन्दै यसको विरोध हुँदै आएको थियो। विद्युत् प्राधिकरणका तथ्यांक उद्धृत गर्दै कान्तिपुरले ५० युनिटभन्दा बढी खपत गर्ने २६ लाखभन्दा बढी घरायसी ग्राहक VAT को दायरामा पर्ने जनाएको छ।
यद्यपि VAT हटिसकेको भने छैन। आर्थिक ऐन र आन्तरिक राजस्व विभागको विद्यमान व्यवस्थामा करको प्रावधान कायमै छ। अब अर्थ मन्त्रालयबाट प्रस्ताव गएर मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेपछि मात्रै VAT हटाउने व्यवस्था कार्यान्वयनमा आउनेछ।
ऊर्जा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार निर्णय कार्यान्वयन भएपछि साउनदेखि विद्युत् महसुलमा उठाइएको VAT रकमको हिसाब मिलाएर आगामी बिलमा समायोजन गर्ने तयारी समेत गरिएको छ।
