रुसी ड्रोन हमलापछि युक्रेनको सपिङ सेन्टरमा आगो
किभ : युक्रेनको दक्षिणपूर्वी सहर जापोरिझ्झियामा रुसी ड्रोन आक्रमणपछि एउटा सपिङ मलमा भीषण आगलागी भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। घटनामा एक जना घाइते भएका छन्।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार सेप्टेम्बर १७ को राति भएको आक्रमणले सहरको दायाँ किनारमा रहेको Amstor सपिङ सेन्टरमा आगो लागेको थियो। आगो १० हजार वर्गमिटरभन्दा बढी क्षेत्रमा फैलिएको र भवन ठूलो मात्रामा क्षतिग्रस्त भएको जनाइएको छ।
आक्रमण दोहोरिन सक्ने जोखिमका कारण अग्निनियन्त्रकहरू काम रोक्दै पटक–पटक सुरक्षित स्थानमा जानुपरेको आपतकालीन सेवाले जनाएको छ। शुक्रबार बिहानसम्म आगो नियन्त्रणमा लिएर उद्धार कार्य सम्पन्न गरिएको थियो।
युक्रेनी अधिकारीहरूका अनुसार आसपासका व्यवसाय तथा अन्य नागरिक पूर्वाधारमा पनि क्षति पुगेको छ। जापोरिझ्झिया पछिल्लो समय नियमित ड्रोन तथा मिसाइल आक्रमणको सामना गरिरहेको युक्रेनी सहरमध्ये एक हो।
