रोनाल्डोमाथि पोर्चुगलको भरोसा कायमै, राष्ट्रिय टोलीमा समावेश
लिस्बन : पोर्चुगलका नयाँ प्रशिक्षक जर्ज जेसुसले क्रिस्टियानो रोनाल्डोलाई UEFA नेसन्स लिगका आगामी खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरेका छन्। जेसुसले प्रशिक्षक बनेपछि घोषणा गरेको पहिलो २५ सदस्यीय टोलीमा ४१ वर्षीय रोनाल्डोले स्थान कायम राखेका हुन्।
सन् २०२६ को विश्वकपपछि रोनाल्डोको अन्तर्राष्ट्रिय भविष्यबारे चर्चा चले पनि उनले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका छैनन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने रोनाल्डोले पोर्चुगलका लागि २३३ खेलमा १४६ गोल गरेका छन्। उनको करिअरमा हाल क्लब र देशका लागि गरी ९७९ गोल पुगेको छ।
प्रशिक्षक जेसुसले टोली छनोटमा विगतको प्रतिष्ठाभन्दा वर्तमान प्रदर्शनलाई प्राथमिकता दिने बताएका छन्। उनका अनुसार रोनाल्डोको पाँच बालोन डी’ओरसहित विशिष्ट करिअर भए पनि खेल्ने अवसर प्रदर्शनकै आधारमा तय हुनेछ।
साबिक विजेता पोर्चुगलले नेसन्स लिग अभियान सेप्टेम्बर २४ मा वेल्सविरुद्ध घरेलु मैदानबाट सुरु गर्नेछ। त्यसपछि सेप्टेम्बर २७ मा नर्वे र अक्टोबर १ मा डेनमार्कसँग उसकै मैदानमा खेल्नेछ भने अक्टोबर ४ मा नर्वेलाई घरेलु मैदानमा सामना गर्नेछ।
