हिमाल जोगाउन ४,९०० मिटर उचाइमा आमरण अनशन, मनास्लुमा ११ युवाको संघर्ष 

गोरखा : जलवायु परिवर्तनको बढ्दो जोखिम र हिमताल विस्फोटको सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराउन मनास्लु क्षेत्रमा ११ युवाले करिब ४ हजार ९ सय मिटर उचाइमा आमरण अनशन सुरु गरेका छन्।

चुमनुव्री–१ सामागाउँका धावा नोर्वु लामाको नेतृत्वमा शुक्रबारदेखि सुरु भएको अनशनमा युवाहरूले जलवायु जोखिम न्यूनीकरण र हिमताल संरक्षणसम्बन्धी आठबुँदे माग अघि सारेका छन्।

उनीहरूले मनास्लु र चुम उपत्यकाका हिमतालको हवाई अनुगमन, तालको गहिराइ तथा पानीको सतह मापन, सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययन र जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना दिने साइरन जडान गर्न माग गरेका छन्।

सीमापारि चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालको नेपाल र चीनले संयुक्त अनुगमन गर्नुपर्ने मागसमेत उनीहरूको छ। साथै देशभरका हिमतालको नियमित निगरानी र हिमाली क्षेत्रका विद्यालयको पाठ्यक्रममा जलवायु परिवर्तनको असरसम्बन्धी विषय समावेश गर्नुपर्ने उनीहरूले बताएका छन्।

युवाहरूले आफ्ना माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ