रसुवा — बाढी प्रभावितका लागि आएको ठूलो परिमाणको राहत धुन्चेमा जम्मा भए पनि सडक सम्पर्क टुटेका दुर्गम बस्तीमा पर्याप्त सामग्री पुग्न सकेको छैन। धुन्चेस्थित सैनिक ब्यारेकमा करिब ४० हजार किलो राहत सामग्री रहेको छ।
आमाछोदिङमो र गोसाइँकुण्डका केही दुर्गम बस्तीमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास तथा सञ्चारका साधनको अभाव देखिएको छ। सडक अवरुद्ध हुनु र कतिपय स्थानमा हेलिकोप्टर अवतरण गर्न नसक्नु राहत वितरणको मुख्य चुनौती बनेको छ।
सुरक्षा निकायले सडक र हेलिकोप्टरमार्फत राहत पुर्याउने प्रयास जारी राखेका छन्, तर समयमै पर्याप्त खाद्यान्न नपुगे दुर्गम बस्तीमा संकट थप गहिरिने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
