४६ ठाउँमा पहिरो, कतै सडक नै गायब : कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता
मालढुंगादेखि मुस्ताङको कोरला नाकासम्म करिब २०२ किलोमिटर सडकमा ४६ स्थानमा पहिरो गएको छ भने केही ठाउँमा नदीले सडक नै बगाएको छ। क्षतिको प्रकृति जटिल भएकाले करिडोर पूर्ण रूपमा सञ्चालनमा ल्याउन कम्तीमा एक साता लाग्ने अनुमान गरिएको छ।
मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार सबैभन्दा चुनौतीपूर्ण अवस्था बेनीदेखि घाँसासम्मको करिब ४५ किलोमिटर खण्डमा देखिएको छ। यस खण्डका चार स्थानमा सडक पूर्ण रूपमा बगेको छ। गलेश्वर, राहुघाट क्षेत्र, बैसरी, सिरुबारी, बेगखोला, महभीर, भिरकाटे, पोखरेबगरदेखि तातोपानीसम्म विभिन्न स्थानमा पहिरो र नदी कटानले सडक क्षतविक्षत बनाएको छ।
लेदोसहितको सामान्य पहिरो एक्स्काभेटरको सहायताले तुलनात्मक रूपमा छिटो हटाउन सकिने भए पनि नदीले सडकको ट्र्याक नै बगाएका स्थानमा नयाँ बाटो बनाउनु मुख्य चुनौती बनेको छ। भिरकाटे, तातोपानी र नाच्याङ क्षेत्रमा सडक पुनः सञ्चालनका लागि भित्तातर्फ नयाँ ट्र्याक खोल्ने वा नदीतर्फबाट आधार उठाएर सडक बनाउने विकल्पमा काम भइरहेको छ।
आयोजनाले मालढुंगा–बेनी खण्ड मंगलबार साँझसम्म र घाँसा–कोरला खण्ड बुधबार साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। तर बेनी–घाँसा खण्डमा भएको गम्भीर क्षतिका कारण सम्पूर्ण करिडोर खुल्न करिब एक साता लाग्न सक्ने अनुमान छ।
करिडोर अवरुद्ध हुँदा यसको प्रभाव यातायातमा मात्रै सीमित भएको छैन। रसुवा–केरुङ र तातोपानीतर्फका मार्गसमेत अवरुद्ध रहेको अवस्थामा कोरला नाकाको पहुँच प्रभावित हुँदा चीनसँगको व्यापारमा असर परेको छ। दसैँ नजिकिँदै गर्दा आयात हुने लत्ताकपडा, सवारीसाधन तथा भेडाच्याङ्ग्राको आपूर्तिसमेत प्रभावित हुन सक्ने देखिएको छ।
मुख्य पर्यटकीय सिजन सुरु हुने समयमा सडक बन्द हुँदा घाँसा, कालोपानी, टुकुचे, जोमसोम, मुक्तिनाथदेखि उपल्लो मुस्ताङसम्मको पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ।
नदीको बहाव अझै पूर्ण रूपमा नघटेकाले सडक पुनर्निर्माणको काम चुनौतीपूर्ण बनेको छ। आयोजनाले जनशक्ति र उपकरण परिचालन गरेर सडक खुलाउने काम तीव्र पारे पनि नदीले सडक नै बगाएका स्थानले कालीगण्डकी करिडोर पुनः सञ्चालनको प्रयासलाई कठिन बनाएको छ।
