हिम्लुङमा प्रकृतिको कहर : १५ जनाको मृत्यु, बेपत्ताको खोजी तीव्र
मनाङ : मनाङको हिम्लुङ हिमालमा मध्यराति खसेको भीषण हिमपहिरोले बेस क्याम्प निर्माणका लागि पुगेको नेपाली टोलीमा ठूलो मानवीय क्षति पुर्याएको छ। घटनामा १५ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।
नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा हिमालय होलिडे र इमेजिङ नेपाल कम्पनीका गरी २७ जना नेपाली कामदार बेस क्याम्प स्थापना गर्न पुगेका थिए। असोज ११ गते राति करिब १२:४५ बजे अचानक हिमपहिरो खस्दा टोलीका सदस्यहरू हिउँमा पुरिएका थिए।
घटनामा परेका २७ जनामध्ये ११ जनाको सकुशल उद्धार गरिएको थियो। सम्पर्कविहीन १६ जनाको खोजी गर्दा हालसम्म १५ जनाको शव फेला परेको छ।
ओखलढुङ्गाका ३८ वर्षीय पासाङ नुरी शेर्पा भने अझै फेला परेका छैनन्। उनको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
मृतकहरू सङ्खुवासभा, गोरखा, खोटाङ, रुकुम पूर्व, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, ओखलढुङ्गा र दोलखासहित विभिन्न जिल्लाका रहेका छन्।
