सेयर बजार ओरालो लाग्दा एक सातामै लगानीकर्ताको सम्पत्ति ७३ अर्ब रुपैयाँले घट्यो

काठमाडौं : नेपाली सेयर बजार लगातार चौथो साता ओरालो लागेको छ। गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.५६ अंक अर्थात् १.६२ प्रतिशतले घट्दा लगानीकर्ताको सेयर सम्पत्तिको बजार मूल्य करिब ७३ अर्ब रुपैयाँले घटेको छ।

साताको सुरुवातमा २,६२९.८१ अंकमा रहेको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा २,५८७.२५ अंकमा झरेको हो। साताभर बजार अधिकतम २,६३८.२८ र न्यूनतम २,५८२.३६ अंकसम्म पुगेको थियो।

साताका पाँच कारोबार दिनमध्ये बिहीबार नेप्से सामान्य ०.२६ अंकले बढेको थियो भने बाँकी चार दिन बजार घट्यो। सोमबार सबैभन्दा धेरै १६.४७ अंकको गिरावट आएको थियो।

बजार घटेसँगै कुल बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब रुपैयाँबाट घटेर करिब ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ। यस आधारमा एक सातामै लगानीकर्ताको सेयर सम्पत्तिको बजार मूल्य करिब ७३ अर्ब रुपैयाँले घटेको हो। अघिल्लो साता पनि यस्तो मूल्य करिब २९.९ अर्ब रुपैयाँले घटेको थियो।

कारोबार रकममा पनि कमी आएको छ। दैनिक औसत कारोबार ६ अर्ब २८ करोड ५० लाख रुपैयाँबाट घटेर करिब ४ अर्ब ७९ करोड ८० लाख रुपैयाँमा झरेको छ, जुन २३.६५ प्रतिशतको गिरावट हो।

क्षेत्रगत रूपमा साताभर सबै १३ समूहका सूचक घटेका छन्। अंकका आधारमा जीवन बीमा समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ भने प्रतिशतका आधारमा होटल तथा पर्यटन समूह २.७१ प्रतिशतले घटेको छ।

सांकेतिक तस्बिर: AhmadArdity / Wikimedia Commons (CC0)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ