साना व्यवसाय लक्षित गर्दै Meta ले विस्तार गर्यो ‘Muse’ AI सेवा
काठमाडौं — फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी Meta ले साना व्यवसायलाई दैनिक काम व्यवस्थापन र ग्राहकसँगको सम्पर्क सहज बनाउन आफ्नो कृत्रिम बुद्धिमत्ता (AI) एजेन्ट ‘Muse’ को सेवा विस्तार गरेको छ।
कम्पनीका अनुसार ‘Muse for Small Business’ लाई Facebook Page, Instagram Professional Account तथा Meta Ads सँग जोडेर प्रयोग गर्न सकिनेछ। यसले व्यवसायको प्रकृति, बिक्री गरिने वस्तु वा सेवा तथा ग्राहकसँग हुने संवादका आधारमा विभिन्न व्यावसायिक काममा सहयोग गर्नेछ।
Muse लाई Shopify, Slack, Dropbox, Canva, QuickBooks, Stripe, Zoom, Notion, Asana र Figma लगायतका प्लेटफर्मसँग समेत जोड्न सकिने व्यवस्था गरिएको छ। यसमार्फत विज्ञापन तथा सामग्री विश्लेषण गर्ने, नयाँ अभियानको मस्यौदा तयार गर्ने, वित्तीय गतिविधिको समीक्षा गर्ने तथा जवाफ दिनुपर्ने इमेल पहिचान गर्नेजस्ता काम गर्न सकिने Meta ले जनाएको छ।
Muse को आधारभूत सेवा निश्चित प्रयोग सीमासहित निःशुल्क उपलब्ध हुने र बढी प्रयोगका लागि सशुल्क सदस्यता लिन सकिनेछ। सामग्री प्रकाशित गर्ने, सन्देश पठाउने वा रकम खर्च गर्नेजस्ता महत्वपूर्ण काम गर्नुअघि भने प्रयोगकर्ताको स्वीकृति आवश्यक पर्ने कम्पनीले जनाएको छ।
साना व्यवसायसँगै Meta ले ठूला कम्पनीलाई लक्षित गरी ‘Meta Enterprise Platform’ पनि अघि बढाएको छ। यससँगै कम्पनीले आफ्नो AI प्रविधिलाई सामाजिक सञ्जालबाट व्यावसायिक तथा कर्पोरेट क्षेत्रमा थप विस्तार गर्ने प्रयास तीव्र बनाएको देखिन्छ।
