‘सरकार ढल्दैन, पाँच वर्ष चल्छ’— बालेन सरकारबारे अमरेश सिंह
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र सफल हुने दाबी गरेका छन्।
बिहीबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले सरकारको स्थायित्वबारे आशंका गर्नुपर्ने अवस्था नरहेको बताए। उनले सरकारलाई सफल बनाउन सत्ता पक्षबाट आवश्यक सहयोग हुने उल्लेख गर्दै पाँच वर्षको कार्यकाल पूरा गरेर देशमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको बताए।
‘ढुक्क हुनुहोस्, यो सरकार पाँच वर्ष चल्छ,’ सिंहले भने, ‘सरकारलाई चौतर्फी सहयोग गरेर देशमा सकारात्मक परिवर्तन ल्याउन हामी पाँच वर्ष नै काम गर्छौं।’
रास्वपाभित्र अन्तरविरोध रहेको भन्ने चर्चालाई पनि सिंहले अस्वीकार गरे। पार्टीभित्र कुनै किसिमको अन्तरविरोध नरहेको र नेता तथा कार्यकर्ताहरू एकीकृत भएर अघि बढिरहेको उनको भनाइ थियो।
सत्ता पक्षमा रहे पनि जनताका समस्या र आवाज संसदमा निरन्तर उठाउनु जनप्रतिनिधिको प्रमुख जिम्मेवारी भएको उनले बताए। सरकारको समर्थन गर्नुको अर्थ जनसरोकारका विषयमा मौन बस्नु नभएको उनको भनाइ थियो।
सिंहले वर्तमान सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकारसँग असफल हुने छुट नरहेको बताए। जनताको अपेक्षाअनुसार काम गर्दै सुशासन, विकास र सकारात्मक परिवर्तनको अनुभूति दिलाउन सरकार केन्द्रित हुनुपर्ने उनको धारणा थियो।
