सरकारको कार्यशैलीमाथि खुश्बु ओलीको प्रहार– ‘सुशासन देखिएन’
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले महँगी, कालाबजारी र सुशासनको विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न गरेकी छन्।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले बढ्दो महँगीका कारण सामान्य तथा मध्यमवर्गीय परिवारको दैनिक जीवन कठिन बनेको बताइन्। खाद्यान्न र ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको समस्याले जनतालाई थप मार परेको उनको भनाइ थियो।
उनले सरकारले अघि सारेको ७ प्रतिशत आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यअनुसार काम हुन नसकेको आरोपसमेत लगाइन्। सरकारले यसअघि तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखेको बताएको थियो।
ओलीले प्रधानमन्त्रीले संसद्लाई पर्याप्त महत्व नदिएको र अध्यादेशमार्फत अघि बढ्ने अभ्यास गरेको आरोप लगाउँदै सरकारलाई संसद्प्रति थप जवाफदेही हुन आग्रह गरिन्।
