विद्युत् व्यापारमा नयाँ ढोका खुल्यो, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न पाउने

काठमाडौं : सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण लाइन प्रयोग गरेर विद्युत् आदानप्रदान तथा व्यापार गर्न बाटो खुला गरेको छ। विद्युत् नियमन आयोगले राष्ट्रिय प्रसारण ग्रिड प्रयोग गरेबापत तिर्नुपर्ने ‘ह्वीलिङ चार्ज’ निर्धारण गरेसँगै निजी क्षेत्रका लागि प्रसारण प्रणालीमा खुला पहुँच कार्यान्वयनतर्फ अघि बढेको हो।

आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण ग्रिड प्रयोग गर्दा मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचका लागि प्रतिमेगावाट प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ शुल्क तोकेको छ। अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा शुल्क निर्धारण गरिएको छ।

यस व्यवस्थासँगै योग्य निजी विद्युत् उत्पादक, कम्पनी तथा ठूला औद्योगिक ग्राहकले तोकिएको प्रक्रिया र शुल्कअनुसार राष्ट्रिय प्रसारण प्रणाली प्रयोग गरेर विद्युत् एक स्थानबाट अर्को स्थानसम्म पुर्‍याउन सक्ने नियामकीय आधार बनेको छ। प्रसारण तथा वितरण लाइन प्रयोग गरेबापत उनीहरूले नेपाल विद्युत् प्राधिकरणलाई निर्धारित ह्वीलिङ चार्ज तिर्नुपर्नेछ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार खुला बजार नीतिअन्तर्गत तेस्रो पक्ष तथा निजी क्षेत्रलाई समेत विद्युत् प्रसारण प्रणाली प्रयोग गर्न दिने उद्देश्यले शुल्क निर्धारण गरिएको हो। शुल्क निर्धारण गर्दा प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षित वित्तीय विवरण तथा त्यसपछिका दुई आर्थिक वर्षका अनुमानित वार्षिक आवश्यक आयलाई आधार बनाइएको आयोगले जनाएको छ।

आयोगले राष्ट्रिय प्रसारण ग्रिडबाहेकका रेडियल तथा डेडिकेटेड प्रसारण संरचनाको शुल्क निर्धारणका लागि भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको जनाएको छ। नयाँ व्यवस्थाले नेपालको विद्युत् व्यापारमा निजी तथा तेस्रो पक्षको सहभागिताका लागि आवश्यक नियामकीय संरचनाको महत्वपूर्ण हिस्सा तयार गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ