विदेश अध्ययन र भ्रमणमा एक वर्षमै रु २०९ अर्ब बाहिरियो

काठमाडौं — नेपालीले विदेश अध्ययन तथा भ्रमणमा एक वर्षमै २०९ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार उक्त रकममध्ये विदेश अध्ययनका लागि मात्रै १४१ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको छ।

कुल भ्रमण भुक्तानीमा अध्ययनसम्बन्धी खर्चसमेत समावेश भएकाले शिक्षा बाहेक अन्य विदेश भ्रमणमा करिब ६७ अर्ब १८ करोड रुपैयाँ खर्च भएको देखिन्छ। पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीको संख्या बढेसँगै शिक्षातर्फ ठूलो रकम बाहिरिने क्रम पनि बढेको छ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म ५ लाख ४८ हजार ७१७ नेपालीले ८३ देशमा अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट (NOC) लिएका छन्। सो अवधिमा विदेश अध्ययनका लागि मात्रै करिब ५५६ अर्ब ६८ करोड रुपैयाँ बाहिरिएको सरकारी विवरणमा उल्लेख छ।

यता, आर्थिक वर्ष २०८२/८३ मा नेपालले विदेशी पर्यटक तथा भ्रमणसम्बन्धी सेवाबाट करिब ९० अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको थियो। सोही अवधिमा शिक्षा सहित विदेश भ्रमणतर्फको भुक्तानी भने २०९ अर्ब रुपैयाँ नाघेको देखिन्छ।

यसै अवधिमा नेपाल भित्रिने रेमिट्यान्स भने उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेर करिब २३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको तथ्यांक छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ