लिबियाको प्रमुख तेल पाइपलाइन अवरुद्ध, उत्पादन र निर्यातमा दबाब 

त्रिपोली — लिबियाको प्रमुख तेल क्षेत्रबाट कच्चा तेल ढुवानी गर्ने पाइपलाइन अवरुद्ध भएपछि देशको तेल उत्पादन तथा निर्यात प्रभावित हुने जोखिम बढेको छ। सशस्त्र समूहले शरारा तेल क्षेत्रबाट जाविया बन्दरगाहतर्फ जाने पाइपलाइनको महत्वपूर्ण भल्भ बन्द गरेपछि उत्पादनमा उल्लेख्य गिरावट आएको हो।

लिबियाको नेसनल आयल कर्पोरेसन (एनओसी) का अनुसार भल्भ बन्द हुँदा पाइपलाइनभित्र दबाब बढेको छ र शरारा तेल क्षेत्रको उत्पादन घटाउनुपरेको छ। शरारा लिबियाका सबैभन्दा ठूला तेल क्षेत्रमध्ये एक हो र यसको उत्पादन क्षमता दैनिक करिब ३ लाख ४० हजार ब्यारेल रहेको बताइएको छ।

अवरोध लामो समयसम्म जारी रहे शराराबाट तेल उत्पादन पूर्ण रूपमा रोकिन सक्ने तथा जाविया बन्दरगाहमार्फत हुने ढुवानी र निर्यातमा समेत प्रत्यक्ष असर पर्न सक्ने एनओसीले चेतावनी दिएको छ।

पाइपलाइनमा आएको अवरोधको प्रभाव जाविया तेल प्रशोधन केन्द्रमा समेत पर्न सक्ने देखिएको छ। कच्चा तेलको आपूर्ति नियमित हुन नसके प्रशोधन केन्द्रको सञ्चालन रोक्नुपर्ने र देशले विदेशबाट थप इन्धन आयात गर्नुपर्ने अवस्था आउन सक्ने अधिकारीहरूको चिन्ता छ।

यसैबीच, जाविया तेल प्रशोधन केन्द्रमा प्रदर्शनरत सुरक्षाकर्मीहरूले प्रवेशद्वार बन्द गरेपछि कर्मचारी तथा प्राविधिकको आवतजावतसमेत प्रभावित भएको छ। पछिल्लो अवरोधका कारण दैनिक करिब एक लाख ३० हजार ब्यारेल बराबरको उत्पादन गुमिरहेको एनओसीले जनाएको छ।