लगातारको वर्षाले बैंकक डुबानमा, सात लाख मानिस प्रभावित 

बैंकक — थाइल्यान्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले ठूलो जनजीवन प्रभावित गरेको छ। बैंकक प्रशासनका अनुसार बाढीबाट करिब ३ लाख २९ हजार घरपरिवार अर्थात् झन्डै सात लाख मानिस प्रभावित भएका छन्। सहरका सबै ५० जिल्लालाई बाढी प्रभावित क्षेत्र घोषणा गरिएको छ। 

पूर्वी बैंककका लाट क्राबाङ, बाङ कापी, मिन बुरी, साइ माई, सफान सुङलगायत क्षेत्र बढी प्रभावित भएका छन्। कतिपय सडक र आवासीय क्षेत्रमा अझै पानी जमेको छ भने यातायात र दैनिक गतिविधिमा अवरोध कायमै छ। 

बाढीका कारण जोखिममा परेका वृद्ध, बिरामी तथा अशक्त नागरिकको उद्धारलाई प्राथमिकता दिइएको छ। करिब १,५०० जना ओछ्यानमै उपचार आवश्यक पर्ने बिरामी तथा हेरचाह आवश्यक व्यक्तिलाई अस्पतालमा सारिएको बैंकक प्रशासनले जनाएको छ। झन्डै ७ हजार मानिस आश्रयस्थलमा रहेको एपीले जनाएको छ। 

सोमबार वर्षा केही कम भएपछि प्रशासनले मुख्य नहरहरूको पानीको सतह घटाउँदै सडक र बस्तीमा जमेको पानी निकास गर्ने काम तीव्र बनाएको छ। केही सडक खुल्न थाले पनि धेरै स्थानमा बाढीको प्रभाव कायमै छ। 

बाढीका कारण सोमबार र मंगलबार बैंकक तथा आसपासका नोनथाबुरी, पाथुम थानी र समुत प्राकानमा विशेष सार्वजनिक बिदासमेत घोषणा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ