मिलर र बाभुमाको शतकमा दक्षिण अफ्रिकाको शानदार जित
जोहानेसबर्ग — दक्षिण अफ्रिकाले ‘Pink ODI’ मा अस्ट्रेलियालाई ३२ रनले पराजित गर्दै तीन खेलको एकदिवसीय सिरिजमा २–० को अपराजेय अग्रता बनाएको छ। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३६५ रन बनाएको थियो।
डेभिड मिलरले आक्रामक ब्याटिङ गर्दै ९३ बलमा १४२ रन बनाए भने कप्तान टेम्बा बाभुमाले ११६ बलमा १०३ रन जोडे। दुवैले चौथो विकेटका लागि १५६ रनको महत्वपूर्ण साझेदारी गरे।
३६६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३३ रनमा अलआउट भयो। मिचेल मार्श र ट्राभिस हेडले समान ८४ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। दक्षिण अफ्रिकाका लिजाड विलियम्सले तीन विकेट लिए।
स्तन क्यान्सरबारे जनचेतना र सहयोग जुटाउने उद्देश्यले आयोजित ‘Pink ODI’ मा दक्षिण अफ्रिकी खेलाडीले विशेष गुलाबी जर्सी लगाएका थिए। सिरिजको अन्तिम खेल सेप्टेम्बर ३० मा पोटचेफस्ट्रुममा हुनेछ।
