मलेसियाको श्रमिक भर्ना प्रणालीबाट २५ नेपाली म्यानपावर हटाउन सरकारको आग्रह 

काठमाडौं : नेपाल सरकारले मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (FWCMS) मा ‘प्रिन्सिपल’ एजेन्सीका रूपमा सूचीकृत २५ नेपाली वैदेशिक रोजगार कम्पनीलाई उक्त सूचीबाट हटाउन मलेसिया सरकारसँग आग्रह गरेको छ। सम्बन्धित कम्पनीहरूले नै प्रणालीबाट बाहिरिन निवेदन दिएपछि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई पत्राचार गरेको हो।

मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सुरुमा २५ म्यानपावर कम्पनीलाई मुख्य एजेन्सीका रूपमा FWCMS मा समावेश गरेको थियो। पछि थप २५० कम्पनीलाई ती मुख्य कम्पनीअन्तर्गत ‘सपोर्टिङ’ एजेन्सीका रूपमा राखिएको थियो। यो व्यवस्थालाई लिएर नेपालका वैदेशिक रोजगार व्यवसायीबीच विवाद उत्पन्न भएको थियो।

नेपाल सरकारले भने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीबीच मुख्य र सहायक भनेर फरक हैसियत कायम गर्ने व्यवस्था स्वीकार्य नहुने बताएको छ। नेपाल–मलेसिया श्रम सम्झौतामा समेत यस्तो वर्गीकरणको व्यवस्था नरहेको नेपाली पक्षको भनाइ छ।

यसैबीच वैदेशिक रोजगार विभागले ती २५ कम्पनी FWCMS मा कसरी छनोट भए भन्ने विषयमा छानबिनसमेत अघि बढाएको छ। छनोटको आधार, कारोबार तथा मलेसिया रोजगारीसँग सम्बन्धित विवरण अध्ययन भइरहेको छ।

दुई देशबीच श्रमिक भर्ना प्रणालीबारे देखिएको फरक अडानका कारण नयाँ श्रमिक पठाउने प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि नेपाल र मलेसियाबीच कूटनीतिक तहमा संवाद जारी रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ