भोटेकोशी बाढीमा मृतक संख्या १,४५३ पुग्यो, अझै ४,७१८ बेपत्ता
काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ४५३ पुगेको छ। बाढीपछि सम्पर्कविहीन भएका हजारौं व्यक्तिको खोजी भने अझै जारी छ।
नेपाल प्रहरीले बुधबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा गरी १ हजार ४५१ जनाको शव फेला परेको छ भने थप दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार हालसम्म रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।
बाढीपछि बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी जारी छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
ठूलो संख्यामा शवको पहिचान खुल्न बाँकी रहेकाले डीएनए परीक्षणमार्फत पहिचानको काम पनि भइरहेको छ। पछिल्लो विवरणअनुसार मृतकबाट १ हजार ३२९ र आफन्तबाट २ हजार ३५ गरी कुल ३ हजार ३६४ डीएनए नमुना संकलन गरिएको छ।
आवश्यक कानुनी तथा डीएनए नमुना संकलन प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३३ शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पहिचान नखुलेका १ हजार ४२२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।
बाढीबाट विस्थापित तथा प्रभावित व्यक्तिका लागि विभिन्न जिल्लामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार २४२ जना बसिरहेका छन्।
बेपत्ताको खोजीलाई प्रभावकारी बनाउन प्रहरीले ‘T2T (Timure to Triveni) Operation’ समेत सञ्चालन गरिरहेको छ। यसअन्तर्गत नदी किनार, भग्नावशेष तथा सम्भावित क्षेत्रमा खोजी गर्नुका साथै आवश्यक स्थानमा ड्रोन र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ।
भोटेकोशीबाट सुरु भएको बाढीले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म ठूलो मानवीय क्षति पुर्याएको छ। खोजी कार्य जारी रहेकाले मृतक तथा बेपत्तासम्बन्धी तथ्यांक अझै परिवर्तन हुन सक्ने देखिएको छ।
