भोटेकोशी बाढीपछि हराएका मलेसियाली ३७ दिनपछि परिवारको सम्पर्कमा

काठमाडौं : रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका एक मलेसियाली नागरिक ३७ दिनपछि सकुशल फेला परेका छन्। उनी आफैं काठमाडौंस्थित मलेसियाली दूतावासमा पुगेपछि सुरक्षित रहेको पुष्टि भएको हो। त्यसपछि उनी मलेसिया फर्किएर परिवारसँग पुनर्मिलन भएका छन्। 

ती व्यक्ति एक्लै नेपाल भ्रमणमा आएका थिए। बाढी आउनुभन्दा एक दिनअघि अगस्ट २५ मा उनी रसुवाको नागथली क्षेत्रमा रहेको जानकारी परिवारसँग थियो। बाढीपछि सडक र पुलमा क्षति पुग्नुका साथै विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा उनी लामो समयसम्म बाहिरी सम्पर्कबाट टाढिएका थिए। 

मलेसियामा बेपत्ता नागरिकका परिवारहरूको प्रतिनिधित्व गर्दै आएको ‘Malaysia Solidarity: Families in Hope’ (MASFIH) ले उनको सकुशल फिर्तीलाई महत्वपूर्ण राहतका रूपमा लिएको छ। ती व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन।

यसअघि नेपालमा आएको बाढीपछि ५५ मलेसियाली नागरिक सम्पर्कविहीन रहेको विवरण थियो। एक जना सुरक्षित भेटिएपछि अझै सम्पर्क हुन नसकेका मलेसियालीको संख्या ५४ रहेको MASFIH ले जनाएको छ। 

३७ दिनसम्म सम्पर्कविहीन रहेका व्यक्ति जीवितै परिवारमा फर्किएपछि बाँकी बेपत्ताका परिवारमा पनि आशा बढेको छ। MASFIH ले पूर्वाधार र सञ्चार प्रणालीमा भएको क्षतिका कारण अन्य व्यक्तिहरू पनि सुरक्षित रहेर सम्पर्क गर्न नसकेको हुन सक्ने बताएको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ