न्युयोर्कमा नेतन्याहुविरुद्ध प्रदर्शन, सडक अवरुद्ध गरेपछि १०३ जना पक्राउ
न्युयोर्क — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त राष्ट्रसंघ महासभा सम्बोधनलाई लिएर न्युयोर्कमा विरोध प्रदर्शन भएको छ। बिहीबार राष्ट्रसंघ मुख्यालय आसपाससहित म्यानहट्टनका विभिन्न स्थानमा प्रदर्शनकारीहरू भेला भएका थिए।प्रदर्शनमा सहभागीहरूले गाजामा जारी युद्ध अन्त्य गर्न र इजरायललाई दिइँदै आएको अमेरिकी सैन्य सहयोग रोक्न माग गरेका थिए। राष्ट्रसंघ मुख्यालय नजिकै फर्स्ट एभिन्यूमा प्रदर्शनकारीहरूले सडकमा बसेर प्रदर्शन गरेपछि यातायातसमेत अवरुद्ध भएको थियो। प्रहरीले सडक खाली गर्न निर्देशन दिएपछि पनि केही प्रदर्शनकारी त्यहीँ बसेपछि पक्राउ गरिएको थियो।
न्युयोर्क प्रहरीका अनुसार १०३ जनालाई अव्यवस्थित व्यवहारको आरोपमा पक्राउ गरिएको र पछि सबैलाई रिहा गरिएको छ। पक्राउ पर्नेमा अभिनेत्री सुसान सारान्डन र हाना आइन्बिन्डरसहित केही राजनीतिक व्यक्ति तथा अभियन्तासमेत थिए।सोही दिन नेतन्याहुको समर्थनमा पनि केही समूह सडकमा देखिएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि विरोध र समर्थनमा उत्रिएका समूहबीच केही स्थानमा तनाव देखिएको थियो।
