दुर्गा प्रसाईं पक्राउ प्रकरण : सर्वोच्चले प्रहरीलाई कारण देखाउन आदेश 

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको छ।

बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। अदालतले सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक ४८ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रमाणसहित लिखित जवाफ पेस गर्न भनेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई सोमबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। साइबर ब्युरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोपसहित उजुरी परेको प्रहरीले जनाएको छ।

प्रसाईंको पक्राउ र हिरासतको कानुनी आधारमाथि प्रश्न उठाउँदै उनकी पत्नीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमा अदालतले प्रहरीसँग पक्राउको आधार र कारण मागेको हो।

सर्वोच्चको आदेशले प्रसाईंलाई तत्काल रिहा गर्न भनेको होइन। हाल अदालतले प्रहरीसँग पक्राउको कानुनी आधारसहित लिखित जवाफ मागेको हो। जवाफ प्राप्त भएपछि वा तोकिएको अवधि समाप्त भएपछि रिटमाथिको थप प्रक्रिया अगाडि बढ्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ