दक्षिण अफ्रिकामा घरभित्र अन्धाधुन्ध गोली प्रहार, गर्भवती महिलासहित ११ जनाको मृत्यु 

दक्षिण अफ्रिकामा घरभित्र अन्धाधुन्ध गोली प्रहार, गर्भवती महिलासहित ११ जनाको मृत्यु

केप टाउन — दक्षिण अफ्रिकाको डरबन नजिकै एक घरमा आयोजित जमघटमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

घटना मंगलबार राति डरबनबाट करिब ३० किलोमिटर दक्षिणमा रहेको क्वामाखुथा टाउनसिपको जिको क्षेत्रमा भएको हो। दक्षिण अफ्रिकी प्रहरीका अनुसार घरभित्र १३ पुरुष र एक महिला गरी १४ जना भेला भएका बेला तीन जना हतियारधारी प्रवेश गरी गोली चलाएका थिए।

गोली लागेर गर्भवती रहेको विश्वास गरिएकी महिलासहित १० जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते चार जनालाई अस्पताल लगिएकोमा थप एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ११ पुगेको हो। बाँकी तीन जना घाइतेको उपचार भइरहेको छ।

आक्रमणपछि तीनै जना बन्दुकधारी फरार भएका छन्। उनीहरूको खोजीका लागि प्रहरीले विशेष ७२ घण्टे अभियान सञ्चालन गरेको छ।

गोलीकाण्डको यकिन कारण अहिलेसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानमा केही पीडितहरू यसअघि विभिन्न कथित गैरकानुनी गतिविधिसम्बन्धी अनुसन्धानमा प्रहरीको निगरानीमा रहेको खुलेको छ। प्रतिद्वन्द्वी समूहबीचको विवाद घटनासँग जोडिएको हुनसक्ने सम्भावनालाई पनि अनुसन्धानकर्ताले अस्वीकार गरेका छैनन्, तर प्रहरीले यसलाई अहिलेसम्म पुष्टि गरेको छैन।

प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्दै आक्रमणकारीको पहिचान र खोजीलाई तीव्र बनाएको जनाएको छ।