तीन दिनको वर्षाले देशभर असर, बाढी–पहिरोले सडकदेखि बस्तीसम्म जोखिममा 

काठमाडौं — तीन दिनदेखि जारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको समस्या बढेको छ। सडक यातायात, विद्युत् सेवा र दैनिक जनजीवन प्रभावित हुँदा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

बागलुङको ताराखोला गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढीले २०० भन्दा बढी घर डुबानमा परेका छन् भने करिब ४०० स्थानीयलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ। रुपन्देहीको बुटवलमा तिनाउ नदीको बहाव बढेपछि नदी किनारका २० परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

वर्षा, पहिरो र खोलाको बढ्दो बहावका कारण पृथ्वी, बीपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी र तमोरलगायत ११ प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको सडक विभागले जनाएको छ। काठमाडौं जोड्ने केही मुख्य सडकमा समेत आवागमन रोकिएको वा सीमित गरिएको छ। 

नारायणी, कालीगण्डकीलगायत नदी तथा खोलामा पानीको सतह बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागले नदीको बहाव र वर्षाको अवस्था निरन्तर निगरानी गरिरहेको छ भने जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।