जुम्लाको स्याउले बजार नपाएको भन्दै शाहीको प्रश्न– विदेशी स्याउ किन आयात गर्ने?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई राजनीतिक दलका कार्यक्रममा प्रवर्द्धन गर्नु सकारात्मक भए पनि किसानले उचित मूल्य पाउने वातावरण बनाउनु मुख्य विषय भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक सुरु गरेपछि प्रतिक्रिया दिँदै शाहीले सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्। जुम्लाको उत्पादनलाई पार्टीको बैठकमार्फत स्थान दिनुले स्याउको प्रचारमा सहयोग पुग्ने उनको भनाइ छ।

तर उनले प्रचारसँगै किसानको आम्दानी र बजारको विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्। जुम्लाको स्याउ बजारमा उपलब्ध रहँदासम्म विदेशबाट आयात हुने स्याउ रोक्ने व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे।

शाहीले वर्तमान सरकार र कृषि मन्त्रालय रास्वपाको नेतृत्वमा रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति व्यवहारमै लागू गर्न आग्रह गरेका हुन्।

उनले जुम्लाका किसानले अहिले पनि आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको भन्दै आयातित स्याउसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले स्थानीय किसानलाई असर गरिरहेको बताए।

रास्वपा सभापति रवि लामिछानेले आज पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक सुरु गरेका थिए। त्यसपछि शाहीले उक्त कदमको स्वागत गर्दै जुम्लाको स्याउ बजारमा रहँदासम्म विदेशी स्याउको आयात रोक्न सके किसानलाई प्रत्यक्ष लाभ पुग्ने धारणा सार्वजनिक गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ