जाभा सागरमा यात्रुवाहक फेरी दुर्घटना, २६ जनाको मृत्यु र १०९ अझै बेपत्ता 

जकार्ता — इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ। दुर्घटनापछि अझै १०९ जनाको अवस्था अज्ञात रहेकाले समुद्रमा व्यापक खोज तथा उद्धार अभियान जारी छ।

Virgo Transport 8 नामक फेरी सेप्टेम्बर १३ मा पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालिमान्तानको बन्जारमासिनतर्फ जाँदै गर्दा खराब मौसमको सामना गरेपछि पल्टिएको थियो। जहाजमा चालक दलका ३० सदस्यसहित कुल २४३ जना सवार थिए। फेरीमा केही सवारीसाधनसमेत रहेको अधिकारीहरूले बताएका छन्।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार हालसम्म १०८ जनालाई जीवितै उद्धार गरिएको छ। पछिल्ला दिनमा जहाजको भित्री भागबाट थप शव फेला परेपछि मृतक संख्या बढेर २६ पुगेको हो। अझै १०९ जनाको खोजी भइरहेको छ।

उद्धार टोलीले अहिले पल्टिएको जहाजको भित्री भाग, विशेषगरी यात्रु बस्ने क्याबिनमा खोजी केन्द्रित गरेको छ। गोताखोरहरूले क्याबिनका झ्याल फुटाएर भित्र प्रवेश गर्ने प्रयास गरे पनि धमिलो पानी र तीव्र समुद्री धारका कारण उद्धार कार्य जोखिमपूर्ण बनेको छ।

जहाजभित्र रहेका सवारीसाधनहरू एकअर्कामाथि थुप्रिएको अवस्थामा देखिएकाले त्यस क्षेत्रमा खोजी गर्नु गोताखोरका लागि थप चुनौतीपूर्ण रहेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले खोज तथा उद्धार अभियानको अवधि थप गरेका छन् भने पल्टिएको फेरीलाई पुनः सीधा अवस्थामा ल्याउने प्रयाससमेत भइरहेको छ।

दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी छ। प्रारम्भिक विवरणमा दुर्घटनाका बेला समुद्रमा मौसम प्रतिकूल रहेको उल्लेख गरिएको छ।