जनकपुरको जर्सीमा देखिने भए मोइन अली, बोल्ट्सले गर्यो अनुबन्ध
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित अलराउन्डर मोइन अलीलाई टोलीमा भित्र्याएको छ। इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी अलीको आगमनसँगै जनकपुरको विदेशी खेलाडी सूची थप बलियो बनेको छ।
मोइन यस सिजन जनकपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्। यसअघि टोलीले कप्तान हरमित सिंहसँगै न्युजिल्यान्डका जिमी निशाम र पाकिस्तानका इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ।
बायाँ हाते ब्याटिङ र अफस्पिन बलिङका लागि परिचित मोइन सन् २०१९ को एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्ड टोलीका सदस्य थिए। सन् २०२२ को टी२० विश्वकप जित्दा उनी टोलीका उपकप्तान थिए। आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै उनले सन् २०२१ र २०२३ मा उपाधिसमेत जितेका थिए।
सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि मोइन विश्वका विभिन्न फ्रेन्चाइज लिगमा सक्रिय छन्। नेपाल आउन उत्साहित मोइनले नेपाली समर्थकको क्रिकेटप्रतिको जोशबारे आफू जानकार रहेको र जनकपुरका लागि मैदानमा शतप्रतिशत योगदान दिन तयार रहेको बताएका छन्।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मोइनको अनुबन्धलाई मधेशका क्रिकेट समर्थकका लागि ‘उपहार’का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय स्तरका खेलाडीको एनपीएलप्रतिको आकर्षण नेपाली क्रिकेटको बढ्दो पहिचानको संकेत हो।
