चीनको इन्धन निर्यात रोकिएपछि विश्व बजारमा आपूर्ति चिन्ता, तेल महँगियो 

लन्डन : चीनका प्रमुख तेल प्रशोधन कम्पनीहरूले हङकङ र मकाउबाहेक अन्य बजारमा पेट्रोलियम पदार्थको निर्यात स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। चीनको निर्णयले विश्व बजारमा इन्धन आपूर्ति थप कसिलो हुन सक्ने चिन्ता बढाएको हो।

बिहीबार कारोबारका क्रममा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य करिब ३ प्रतिशत बढेर प्रतिब्यारेल १०१.०६ अमेरिकी डलर पुगेको थियो। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) पनि बढेर ९२.०९ डलर आसपास पुगेको छ।

चीनका प्रमुख रिफाइनरीहरूले तत्कालका लागि इन्धन निर्यात रोकेका छन् भने सरकारी तेल कम्पनी पेट्रोचाइनाले अक्टोबरका लागि तय भएका केही पेट्रोल तथा हवाई इन्धनका खेपसमेत रद्द गरेको बताइएको छ।

घरेलु बजारमा पर्याप्त इन्धन उपलब्ध गराउन चीनले निर्यात सीमित गरेको बताइएको छ। पेट्रोल र डिजेलको मौज्दात न्यून स्तरमा पुगेको तथा आन्तरिक माग बढेकाले घरेलु आपूर्तिलाई प्राथमिकता दिइएको विश्लेषकहरूले बताएका छन्।

चीनको ‘गोल्डेन विक’ बिदापछि इन्धन निर्यात पुनः सुरु हुन्छ वा प्रतिबन्ध कायम रहन्छ भन्ने अझै स्पष्ट भएको छैन। चीनको आगामी निर्णयले विशेषगरी एसियाली बजारमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य तथा आपूर्तिमा प्रभाव पार्न सक्ने देखिएको छ।

तस्बिर: Cie tsy-yin / Wikimedia Commons / CC BY 4.0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ