क्रिकेटको स्वर्णका लागि चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने 

नागोया : एसियन गेम्स २०२६ को पुरुष टी–२० क्रिकेटतर्फ स्वर्ण पदकका लागि चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुने भएका छन्। दुवै टोलीले बिहीबार आ–आफ्नो सेमिफाइनल जित्दै फाइनलमा स्थान बनाएका हुन्। स्वर्ण पदकको खेल अक्टोबर ३ मा जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुनेछ।

भारतले सेमिफाइनलमा श्रीलंकालाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर १६९ रन बनाएको थियो। इशान किशनले ४६ बलमा अविजित ८० रन बनाए भने वैभव सूर्यवंशीले ३८ रनको योगदान दिए।

१७० रनको लक्ष्य पछ्याएको श्रीलंका भारतीय बलिङसामु टिक्न सकेन र ९.५ ओभरमा मात्र ४५ रनमा अलआउट भयो। जसप्रित बुमराहले पहिलो ओभरमै दुई विकेट लिँदै श्रीलंकालाई दबाबमा पारेका थिए।

अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले सात विकेट गुमाएर १११ रन बनाएको थियो। पाकिस्तानले ११.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

अब अक्टोबर ३ मा भारत र पाकिस्तानबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। एसियन गेम्स पुरुष क्रिकेटमा यी दुई टोली आमनेसामने हुन लागेको यो पहिलो अवसरसमेत हो। श्रीलंका र बंगलादेशले भने कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ