ईसेवाको नेतृत्वमा निरज शर्मा, नयाँ सीईओको जिम्मेवारी सम्हाल्दै
काठमाडौं — डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। ईसेवाको सञ्चालक समितिले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको हो। उनले असोज १२ गतेदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्
यसअघि ईसेवाको नेतृत्व गर्दै आएका जगदीश खड्काको कार्यकाल समाप्त भएपछि शर्मालाई नयाँ जिम्मेवारी दिइएको हो। शर्मा लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् र पछिल्लो समय नबिल बैंकमा उच्च व्यवस्थापकीय जिम्मेवारीमा कार्यरत थिए।
शर्मासँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव रहेको छ। उनले हिमालयन बैंकमा करिब साढे सात वर्ष र नबिल बैंकमा १८ वर्षभन्दा बढी काम गरेका छन्। नबिलमा रहँदा डिजिटल बैंकिङ, सञ्चालन, रणनीतिक योजना, मार्केटिङ तथा ट्रान्जेक्सनल बैंकिङलगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए।
शर्माले दिल्ली विश्वविद्यालयबाट स्नातक र काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन्। डिजिटल रूपान्तरण र नवप्रवर्तनको अनुभव भएका शर्माको नेतृत्वमा ईसेवाले डिजिटल भुक्तानी सेवा तथा व्यवसाय विस्तारलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।
