इन्धनको लागत बढ्दा आयल निगममाथि चर्को आर्थिक दबाब, तीन महिनामा ७ अर्ब ४६ करोड घाटाको अनुमान 

काठमाडौं : पेट्रोलियम पदार्थको खरिद लागत बढेसँगै नेपाल आयल निगम ठूलो आर्थिक दबाबमा परेको छ। उपभोक्तालाई तत्काल थप भार नपार्ने भन्दै बिक्री मूल्य यथावत् राख्दा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै निगमलाई करिब ७ अर्ब ४६ करोड रुपैयाँ खुद घाटा हुने अनुमान गरिएको छ।

निगमको हिसाबअनुसार एलपी ग्यासमा सबैभन्दा बढी घाटा भइरहेको छ। हाल प्रतिसिलिन्डर ग्यास बिक्री गर्दा करिब ४९३ रुपैयाँ घाटा भइरहेको छ। त्यस्तै पेट्रोलमा प्रतिलिटर करिब २६ रुपैयाँ ५० पैसा र डिजेलमा करिब ४८ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ।

असोज १६ देखि ३१ गतेसम्मको १५ दिनमा मात्रै निगमलाई करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बढेर आए पनि चाडपर्वको समयमा उपभोक्तामाथि थप आर्थिक भार नपार्ने भन्दै तत्काल खुद्रा मूल्य नबढाइएको निगमको भनाइ छ।

बढ्दो घाटा व्यवस्थापनका लागि निगमले मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गर्ने तयारी गरेको छ। उक्त कोषमा करिब ४ अर्ब ७० करोड रुपैयाँ रहेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च रहिरहे आर्थिक दबाब थप बढ्ने देखिएको छ।

निगमले दशैं, तिहार तथा छठका बेला पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनेतर्फ प्राथमिकता दिएको जनाएको छ। तर खरिद मूल्य निरन्तर बढिरहे आगामी दिनमा इन्धनको मूल्य समायोजनको विषय पुनः उठ्न सक्ने देखिएको छ।

फाइल तस्बिर: calflier001 / Wikimedia Commons / CC BY-SA 2.0