आन्तरिक हवाई यात्रुको क्षतिपूर्ति पाँच गुणासम्म बढाउने तयारी
काठमाडौं : नेपालमा आन्तरिक हवाई यात्राका क्रममा दुर्घटनामा यात्रुको मृत्यु, गम्भीर चोटपटक वा अशक्तता भएमा एक लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ परिमार्जन सहित पारित गरेको हो।
हाल आन्तरिक हवाई यात्रुका लागि करिब २० हजार अमेरिकी डलर बराबरको न्यूनतम क्षतिपूर्तिको व्यवस्था रहेकोमा प्रस्तावित कानुन लागू भए यो रकम पाँच गुणासम्म बढ्नेछ। यात्रुको मृत्यु भएको अवस्थामा क्षतिपूर्ति कानुनी हकदारले पाउने प्रस्ताव गरिएको छ।
विधेयकले दुर्घटना मात्र नभई उडान ढिलाइ वा रद्द, सामान हराउने वा क्षति हुने, ओभरबुकिङ तथा कार्गोमा हुने क्षतिमा समेत वायुसेवा कम्पनीको दायित्व स्पष्ट गर्ने व्यवस्था गरेको छ। चेक–इन गरिएको सामान हराए वा क्षति भए अधिकतम पाँच हजार डलरसम्म र ह्यान्ड क्यारीमा क्षति भए चार सय डलरसम्म क्षतिपूर्तिको प्रस्ताव छ।
त्यस्तै, उडान ढिलो वा रद्द हुँदा यात्रुलाई समयमै जानकारी दिनुपर्ने तथा निश्चित अवस्थामा वैकल्पिक उडान उपलब्ध गराउने वा टिकटको रकम फिर्ता गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
तर एक लाख डलर क्षतिपूर्तिको व्यवस्था अहिले नै लागू भइसकेको छैन। विधेयकले आवश्यक संसदीय प्रक्रिया पूरा गरी कानुनी रूप लिएपछि मात्रै नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।
तस्बिर: Vyacheslav Argenberg / Wikimedia Commons / CC BY 4.0
Caption: नेपालको आन्तरिक हवाई सेवा। प्रतीकात्मक तस्बिर।
