अमेरिका–इरानबीच फेरि कूटनीतिक हलचल, युद्ध रोक्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क — अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले कूटनीतिक गतिविधि बढेको छ। संयुक्त राष्ट्रसंघ महासभाका क्रममा न्युयोर्कमा इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी प्रतिनिधिहरूबीच कतारको मध्यस्थतामा संवाद भएको छ। अमेरिकी पक्षबाट विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर वार्तामा सहभागी थिए।

वार्तासँगै इरानले अमेरिकासमक्ष सात दिनको कार्ययोजना अघि सारेको छ। अराघचीका अनुसार निश्चित सर्त पूरा भए सातौँ दिनसम्म स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र त्यसपछि व्यापक वार्ता अघि बढाउने प्रस्ताव गरिएको छ। प्रस्ताव यसै वर्ष जुनमा अमेरिका र इरानबीच भएको तर पछि असफल भएको समझदारीका आधारमा तयार गरिएको बताइएको छ।

प्रस्तावमा युद्ध तथा क्षेत्रीय शत्रुता रोक्ने, इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र तेलसँग सम्बन्धित केही प्रतिबन्ध हटाउनेजस्ता विषय समेटिएको रिपोर्ट छ। त्यसपछि इरानको आणविक कार्यक्रमसहित व्यापक वार्तातर्फ जाने योजना रहेको जनाइएको छ।

अमेरिकी पक्षले भने प्रस्ताव स्वीकार गरिसकेको छैन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पछिल्लो सम्पर्कलाई ठूलो कूटनीतिक उपलब्धिका रूपमा तत्काल व्याख्या गर्न नहुने संकेत गरेका छन्। दुवै पक्षले संवादलाई सकारात्मक भने पनि युद्ध अन्त्य गर्ने औपचारिक सम्झौता अझै भएको छैन